छुवाछूत उन्मूलन : राजधानीमै सकस
जातीय भेदभाव तथा छुवाछूत उन्मूलनको १९ वर्ष
नेपालमा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन घोषणा भएको १९ वर्ष बितेको छ । तत्कालिन व्यवस्थापिका संसदले २०६३ साल जेठ २१ गते देशलाई ‘छुवाछूतमुक्त राष्ट्र’ घोषणा गरेको थियो । सोही दिनको स्मरणमा नेपालमा वर्षेनी जेठ २१ मा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस मनाउँदै आइएको छ ।
पूर्ण रुपमा उन्मुलन हुन सकेन छुवाछूत
सरकारले जातीय विभेद र छुवाछूत अन्त्यको घोषणा गरेपनि समाजमा दलित समुदायमाथि अझै पनि विभेदका घटना भईरहेका सरकारी तथ्याङकले नै देखाउँछ । नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयको तथ्याङक अनुसार आर्थिक वर्ष २०७०/७१ देखि २०८०/८१ सम्ममा देशभर २६१ वटा छुवाछूतका घटना भएका छन् ।
कोरोनाकालमा बढेको थियो छुवाछूत
आर्थिक वर्ष २०७०/७१ देखि २०८०/८१ सम्मको तथ्याङ्क हेर्दा सबैभन्दा धेरै छुवाछूतका घटना कोरोना कालमा भएका छन् । कोरोना सुरु भएको वर्ष २०७६ मा ४३ वटा छूवाछूतको घटना भएको पाइएको छ । त्यसपछिका वर्षहरुमा पनि छुवाछूतका घटना बढेका छन् । एघार वर्षको औसत हेर्दा वर्षेनी २४ वटा छुवाछूतका घटना भएका छन् |
काठमाडौमै रोकिएन छुवाछूत
नेपालको संविधानले नै छुवाछूतलाई बर्जित गरेको भएपनि शिक्षित र पढेलेखेका व्यक्तिहरुको बाहुल्य रहेको काठमाडौ उपत्यकामै छुवाछूतका घटना उन्मुलन हुन सकेको छैन । नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/८१ मा काठमाडौमा छुवाछूतका पाँच वटा घटना भएका छन् । प्रदेशगत रुपमा सबैभन्दा धेरै कर्णाली प्रदेश र सबैभन्दा कम गण्डकी प्रदेशमा छुवाछूतका घटना भएका छन् ।
छुवाछूत घटना–सामाजिक चेतनाको कमी
विभेद तथा छुवाछूत अन्त्य गरी राष्ट्र निर्माण तथा विकासमा मूलप्रवाहीकरण गर्ने मुल उद्धेश्यले संवैधानिक निकायको रुपमा राष्ट्रिय दलित आयोग गठन भएको छ । जातीय भेदभाव र छुवाछूत व्यवहार अन्त्यका लागि विद्यमान नीति, कानुन र कार्यक्रमको अनुगमन/मूल्याङ्कन गरी सुधारको लागि सिफारिस गर्ने दायित्व आयोगको हो
आयोगले सबै किसिमका जातीय भेदभाव र छुवाछूतजन्य व्यवहारलाई पूर्ण अन्त्यका लागि समाजिक चेतनामुलक कार्यक्रम चलाउने र कानुनी कारवाहीको लागि सिफारिस गर्ने जिम्मेवारी पाएको छ । तर, काठमाडौमै छुवाछूतको घटना हुनुले आयोगको प्रभावकारिता माथि पनि प्रश्न उठ्नसक्ने ठाउँ दिएको छ । जनचेतना र शिक्षाको अभाव, बेरोजगारी, आर्थिक–सामाजिक असमानता, धार्मिक मान्यता तथा फितलो कानुन कार्यान्वयन देशमा छुवाछूत बढ्नुका मुख्य कारण हुन् ।