Please wait ..
menu
Content
menu

मानव विकासको यात्रा: प्रगति र चुनौतीहरू

आनन्द अधिकारी, नेपाल इन डेटा Share source June 11, 2025

व्यक्तिलाई आफ्नो जीवनस्तर सुधारका लागि विकल्पहरू छनोट गर्न सक्षम बनाउने प्रक्रियाको रूपमा मानव विकासलाई लिइन्छ । गुणस्तरीय शिक्षा प्रदान गरी रोजगारी पाउने, गुणस्तरीय स्वास्थ्य सेवा दिएर दीर्घ र आरोग्य जीवन जीउन  सक्ने बनाउने तथा आयस्तर सुधार गरेर उन्नत जीवन जिउन सक्ने बनाउनु नै मानव विकास हो । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमले पहिलो पटक विक्रम संवत २०४७ सालमा मानव विकास सूचकाङ्क प्रतिवेदन सार्वजनिक गरेको हो । सोही समयदेखि मानव विकास सूचकाङ्कको प्रयोग गरी विश्वमा मानव विकासका अवस्थाको यथार्थ चित्र र प्रगतिबारेको मापन गरी त्यसको आधारमा नीति निर्माण र योजना तर्जुमा गरिँदै आइएको छ । मानव विकास सूचकाङ्कको अवधारणा भने पाकिस्तानका अर्थशास्त्री महबुब उल हक र भारतका अर्थशास्त्री अमर्त्य सेनले विकास गरेका हुन् । अर्थशास्त्री सेनले मुख्य पाँच आयाममा मानव विकासका अवधारणा अघि सारेका छन् ।व्यक्तिको क्षमता विस्तार, व्यक्तिको स्वतन्त्रता, बहुआयामिक पक्ष जस्तै, शिक्षा, स्वास्थ्य र आर्थिक, सामाजिक एवं राजनीतिक अधिकार, समानता र न्याय तथा मानव अधिकार र मर्यादा सेनले अघि सारेका मानव विकासका लागि अति आवश्यक आयाम हुन् । नेपालले वि.स.२०५५ सालदेखि आवधिक रुपमा मानव विकास प्रतिवेदन तयार गरी सार्वजनिक गर्दै आएको छ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (United Nations Development Programme, UNDP) को प्राविधिक सहयोगमा राष्ट्रिय योजना आयोगले नेपालको मानव विकास प्रतिवेदन तयार पारी प्रकाशन गर्दै आएको छ । हालसम्म मानव विकास प्रतिवेदनका ५ वटा श्रृंखला प्रकाशन भईसकेका छन् ।


मानव विकास सूचकाङ्कका आयामहरु 

मानिसको जीवनस्तरमा गुणात्मक परिवर्तन आउनुलाई मानव विकासको रुपमा हेरिएको छ ।मानव क्षमताको विकास र अवसरहरुको विस्तारमार्फत मानव जिवनमा  सुधार ल्याउने कुरालाई मानव विकासले जोड दिन्छ।मानव विकासले शिक्षा, स्वास्थ्य र आयको अवस्था हेर्दछ । समाजमा शिक्षा, स्वास्थ्य र आय  वितरणको असमानतालाई समायोजित गरी असमानता समायोजित मानव विकास सूचकाङ्क (Inequality-adjusted Human Development Index, IHDI) मापन गरिन्छ । यसले मानव विकास (Human Development Index, HDI) मा असमानताको स्तर देखाउँछ । IHDI / HDI सूचकाङ्कको मान समान रहेमा असमानताको अवस्था नरहेको बुझाउँछ ।यस्तै, मानव विकासमा महिला र पुरुषबीच रहेको भिन्नता लैङ्गिक विकास सूचकाङ्क (Gender Development Index, GDI) मार्फत मापन गरिन्छ । GDI ले स्वास्थ्य, शिक्षा र आयमा महिला, पुरुषबिचको अवसरको तुलना गर्दछ । मानव विकासको अर्को आयाम लैङ्गिक असमानता सूचकाङ्क (GII) हो । GII ले स्वास्थ्य, शशक्तिकरण र श्रम बजारमा महिला पुरुषबिचको असमानतालाई देखाउँछ ।


मानव विकास सूचकाङ्क मापन  

मानव विकास सूचकाङ्क मापनमा मुख्यगरी तीनवटा आधारभूत आयामहरु हेरिन्छ । दीर्घ र स्वस्थ्य जीवन, ज्ञान र मर्यादित जीवनस्तरको मापन गरी मुलुकको औसत उपलब्धि निर्धारण गरिन्छ । दीर्घ र स्वस्थ्य जीवनमा जन्मिँदाको औसत आयु, ज्ञानमा विद्यालय शिक्षाको अपेक्षित वर्ष र विद्यालय शिक्षाको औसत वर्ष हेरिन्छ । यता मर्यादित जिवनस्तरमा भने प्रतिव्यक्ति राष्ट्रिय आय सूचकको प्रयोग गरिन्छ । तीनवटा आयाममार्फत निकालिएको सूचकहरुको ज्यामितिय औसत मान मानव विकास सूचकाङ्क (HDI) हो । मानव विकास सूचकाङ्कको निरपेक्ष मान शुन्यदेखि एक सम्म (०–१) रहन्छ । मानव विकास सूचक:  

 

 श्रोतः मानव विकास रिपोर्ट २०२५


मानव विकास सूचकाङ्कमा नेपाल

नेपालले मानव विकास सूचकाङ्कमा सुधार गर्दै आएपनि सुधारको गति भने सुस्त छ । संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा पछिका दुई वर्ष त सूचकाङ्कको वृद्धिदर ऋणात्मक रह्यो ।वि.स.२०६७ सालमा नेपालको HDI मध्यम तहमा पुगेको हो । वि.स.२०४७ देखि २०८० सम्मको मानव विकास सूचकाङ्कको वार्षिक औसत वृद्धिदर १.३२ रहेको छ । वि.स.२०४७ सालमा पहिलो पटक सार्वजनिक भएको मानव विकास सूचकाङ्कमा नेपालको अवस्था न्युन अवस्थामा थियो । अर्थात नेपालको HDI  ०.४०४ थियो । नेपाललाई HDI को मध्यम तहमा पुग्न २१ वर्ष लाग्यो । वि.स.२०६७ सालमा नेपालको HDI मध्यम तह (०.५५१) पुगेको हो । वि.स.२०८० मा भने यस प्रकारको सूचक ०.६२२ छ ।

चित्र १: मानव विकास सूचकाङ्कको वार्षिक औसत वृद्धिदर

 

श्रोतः मानव विकास रिपोर्ट २०२५


मानव विकाससंग जोडिएका आय, गरिबी र रोजगारी

आय, गरिबी, रोजगारी एकअर्कासँग गहिरो रूपमा जोडिएका हुन्छन् । यी एक तत्वले अर्कालाई प्रत्यक्ष प्रभाव पार्छन् र मानिसको जीवनस्तर निर्धारण गर्छन् । रोजगारीले मानिसको आय बढाउँदछ र गरिबी न्युनीकरणमा सघाउ पुर्याउँछ । हुन त अर्थशास्त्री अमर्त्य सेनले आयस्तरले मात्रै व्यक्तिको जिवनस्तर निर्धारण गर्न नसक्ने धारणा राखेका छन् । तर, मानव विकास सूचकाङ्कको एउटा महत्वपूर्ण मापनमा प्रतिव्यक्ति कुल राष्ट्रिय आय रहेको छ । पर्याप्त आयमार्फत मानिसले राम्रो स्वास्थ्य सुविधा हासिल गर्न सक्छ । उचित शिक्षा र आवश्यक पोषण सुविधा प्राप्त गर्न सक्छ । उच्च आयले जीवन प्रत्याशा, शैक्षिक स्तर र गुणस्तरीय जिवन हासिल गर्न मद्वत गर्छ । न्युन आयले मानिसलाई गरिबी र असमानतातर्फ धकेल्छ । गरिबी र असमानताले स्वास्थ्य, शिक्षा तथा सामाजिक सेवाका पहुँचमा अवरोध खडा गर्दछ । यसले मानिसमा सम्मानजनक जिवन जिउनसक्ने आधार भत्काउँदछ । त्यसैले रोजगारीमार्फत आय वृद्धि र त्यसबाट गरिबी न्युनीकरण मानव विकास सूचकाङ्मा सुधार ल्याउने उपयुक्त बाटो हुनसक्छ । 

नेपालको रोजगारी सिर्जना चुनौनीपूर्ण बनेको छ । वर्षेनी पाँच लाख युवा श्रम बजारमा प्रवेश गर्ने सरकारी आँकडाले नै बताईरहँदा रोजगारी सिर्जना भने ज्यादै न्युन छ । स्वदेशमा पर्याप्त रोजगारीको अवसर नपाएर रोजगारीका लागि विदेश जानुपर्ने बाध्यतामा कमी ल्याउन सकिएको छैन । वर्षेनी ७ लाखभन्दा बढी युवा रोजगारीका लागि नेपालबाट विदेसिन्छन् । अहिले नेपालमा ७८ लाख १३ हजार जना नागरिक रोजगार छन् । यो दश वर्ष अघि आर्थिक वर्ष २०७१/७२ को तुलनामा ११ लाखले मात्रै बढी हो । अर्थात विगत एक दशकको अवधिमा नेपालमा ११ लाख एक हजार मात्रै रोगारी सिर्जना भएको छ । एक वर्षमा ५ लाख युवा श्रम बजारमा प्रवेश गर्ने सरकारी आँकडा मान्दाखेरी १० वर्षको अवधिमा ४९ लाख बेरोजगार युवा थपिएका छन् । एक दशकको वर्षिक औसत रोजगारी वृद्धिदर ज्यादै न्युन १.७५ प्रतिशत मात्रै छ । रोजगारीको दर बढ्दै जाँदा मानव विकास सूचकाङ्कमा पनि सुधार देखिएको छ । 

नेपालमा एक दशक अवधि (आर्थिक वर्ष २०७१/७२–२०८०/८१) मा वार्षिक औसत प्रतिव्यक्ति आय ११९८ अमेरिकी डलर रहेको छ । यस अवधिमा वार्षिक औसतमा प्रतिव्यक्ति आय ५.८९ प्रतिशतको वृद्धि छ ।आर्थिक वर्ष २०८०/८१ मा नेपालको प्रतिव्यक्ति कुल राष्ट्रिय आय १४५६ अमेरिकी डलर रहेको छ । केही अपवादलाई छोडेर आय बढ्दै जाँदा मानव विकास सूचकाङ्कको स्तर पनि बढ्दै आएको छ । रोजगारी तथा आयसंग मानव विकास सूचकाङ्कको सम्बन्ध सकारात्मक रहेको देखिन्छ । 

चित्र २रोजगारी वृद्धिदरको अवस्था 

 श्रोतः Nepal in Data को आन्तरिक गणनाद्वारा  

चित्र ३: आय वृद्धिदरको अवस्था

 

श्रोतः राष्ट्रिय आय–आर्थिक वर्ष २०८०/८१ को राष्ट्रिय लेखा सम्बन्धी वार्षिक तथ्याङ्क, राष्ट्रिय तथ्याङ्क कार्यालय

यस्तै, नेपालले गरिबी न्युनीकरणमा सामान्य सुधार गर्दै आइरहेपनि अपेक्षा अनुरुपको प्रगति हासिल हुन सकेको छैन । आर्थिक वर्ष २०७१/७२ देखि २०८०/८१ सम्मको दश वर्षको वार्षिक औसत गरिबी दर २०.८४ प्रतिशत रहेको छ । यस अनुसार नेपालको कुल जनसंख्याको झण्डै ६१ लाख नागरिक गरिबीको रेखामुनि रहेका छन् । आर्थिक वर्ष २०८०/८१ मा नेपालको गरिबीदर १९.३५ प्रतिशत छ । यो दश वर्ष अघिको तुलनामा सामान्य सुधार हो ।

 

चित्र ४: नेपालमा गरिबीदर 

श्रोतः नेपाल जिवनस्तर सर्वेक्षण–चौथो, राष्ट्रिय तथ्याङ्क कार्यालय


विभिन्न कालखण्डमा मानव विकास सूचकाङ्कको अवस्था

माओवादी सशस्त्र संघर्षअघिको अवस्था

वि.स.२०४७ देखि २०५२ सालसम्मको पाँच वर्षको अवधिलाई पञ्चायती व्यवस्थाको अन्त्य र माओवादी सशस्त्र संघर्षअघिको समयावधि लिइएको छ । यस अवधिमा मानव विकास सूचकाङ्कमा सुधार हुँदै आएपनि न्युन अवस्थाबाट माथि उक्लिन सकेको थिएन । यस अवधिको मानव विकास सूचकाङ्क वृद्धिदर वार्षिक औसतमा १.७१ प्रतिशत रहेको थियो ।

माओवादी सशस्त्र द्धन्द्धकालमा HDI

वि.स २०५२ सालमा विभिन्न माग राखेर नेकपा माओवादीले सशस्त्र संघर्ष सुरु गरेपछि सरकारको ध्यान विकासबाट विमुख भयो । फलस्वरुप विकासको गति पनि सुस्त भयो । माओवादी द्धन्द्धकाल (२०५२–२०६३ सम्मको अवधिमा पनि मानव विकास सूचकाङ्क नकारात्मक वृद्धि नभएपनि सुधारको गति सुस्त रहन पुग्यो ।माओवादीले संघर्ष सुरु गरेको साल २०५२ मा मानव विकास सूचकाङ्क ०.४३८ थियो । त्यसको १२ वर्षपछि वि.स. २०६३ सालमा सरकार र नेकपा माओवादीबीच विस्तृत शान्ति संझौता भई द्धन्द्धको स्थायी समाधानको सुरुवात भयो । वि.स.२०६३ सालसम्म आइपुग्दा नेपालको HDI ०.५१२ थियो । यस अवधिमा मानव विकास सूचकाङ्कको औसत वृद्धिदर १.२६ प्रतिशत रह्यो । जुन माओवादी सशस्त्र संघर्ष सुरु हुनुअघिको ५ वर्षको औसत वृद्धिदर भन्दा कम हो ।

पहिलो र दोस्रो संविधानसभा समयावधि

विस्तृत शान्ति संझौतापछि १२ वर्षसम्म चलेको सशस्त्र संघर्षको अन्त्य भई देश स्थायी शान्तिको मार्गमा प्रवेश गर्यो । वि.स.२०६४ साल चैतमा संविधानसभाको पहिलो निर्वाचन भयो । जनताको विकासप्रतिको चाहना र नीजि क्षेत्रको उत्साहले यस अवधिमा समग्र आर्थिक सामाजिक स्तरमा सुधारका संकेत देखापरे ।पहिलो संविधानसभा निर्वाचन (२०६४) देखि दोस्रो संविधानसभा निर्वाचन (२०७०) सम्मको ७ वर्षको अवधिमा मानव विकास सूचकाङ्कमा सुधार भएको पाईन्छ । वि.स.२०६४ मा ०.५१६ रहेको ज्म्क्ष् वि.स.२०७० मा ०.५७ पुगि मानव विकास सूचकाङ्कको मध्यय तह भेट्टाएको छ । वि.स.२०६७ सालमा नेपालको ज्म्क्ष् मानले मध्यम अवस्था हासिल गरेको हो । यस अवधिमा वार्षिक औसत ज्म्क्ष् वृद्धिदर ०.५५ प्रतिशत थियो ।

संघीय लोकतान्त्रिक गणतन्त्र पछिका वर्ष

वि.स.२०७२ साल असोजमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान लागु भयो । नयाँ संविधान लागु हुँदाको समयमा नेपालको मानव विकास सूचकाङ्क ०.५७५ थियो । देश संघीय संरचनामा गएपछिका दुई वर्ष नेपालको मानव विकास सूचकाङ्कको वृद्धिदर ऋणात्मक रहन पुग्यो । वि.स.२०७७ र २०७८ मा नेपालको HDI वृद्धिदर (०.८३ र ०.५०) ले ऋणात्मक रहे । वि.स.२०८० मा भने नेपालको मानव विकास सूचकाङ्कमा सुधार भई १४५ औं स्थानमा रह्यो । उक्त वर्ष नेपालको HDI ०.६२२ रहेको थियो । वि.स.२०७२ देखि २०८० सम्म नौ वर्षको अवधिमा औसत वार्षिक HDI  वृद्धिदर ०.९० रहेको छ ।


मानव विकास सूचकाङ्क सुधारमा नेपालको प्रयास

दीर्घ र स्वस्थ्य जीवन, ज्ञान र मर्यादित जीवनस्तर मानव विकास सूचकाङ्क मापनका मुख्य अंग हुन् । दीर्घ र स्वस्थ्य जीवनले जिवनप्रत्याशा वा औसत उमेर जनाउँदछ । गुणस्तरीय स्वास्थ्य सेवामा सबैको पहुँच वृद्धि, सुलभ स्वास्थ्य सेवा तथा स्वास्थ्य जनचेताना अभिवृद्धिले मानिसको आयु दीर्घ बनाउँदछ । त्यसैले स्वास्थ्य पूर्वाधारमा गरिएको लगानीले मानिसलाई स्वस्थ बनाउन सहयोग पुर्याउँछ र त्यसबाट दीर्घ जिवन प्राप्त हुन्छ । स्वास्थ्य, शिक्षा र रोजगारी सरकारको प्राथमिकतामा पर्दै आएका छन् । स्वास्थ्य पूर्वाधारमा बढाइएका लगानीले मानव विकास सूचकाङ्कमा सहयोग मिलेको छ । सरकारले आर्थिक वर्ष २०७१/७२ देखि २०७९/८० को अवधिमा वार्षिक औसत ७ अर्ब ९७ करोड रुपैयाँ स्वास्थ्य क्षेत्रमा लगानी गर्दै आएको छ । यस अवधिमा वार्षिक औसत लगानी वृद्धिदर १५.६२ प्रतिशत छ ।

चित्र ५: स्वास्थ्य क्षेत्रमा सरकारको पुँजीगत लगानी (रु.करोडमा)

 

श्रोतः सरकारको कार्यगत व्यय, नेपाल राष्ट्र बैंक

मानव विकास सूचकाङ्कको दोस्रो उपसूचक ज्ञान र शिक्षा अन्तरगत स्कुल जाने औसत अवधि र अपेक्षित शिक्षा अवधिलाई मापनको रुपमा लिइन्छ । शैक्षिक पूर्वाधारमा सरकारले लगानी बढाउँदै आएपनि यो पर्याप्त पाइएको छैन । नेपाल सरकारको कार्यगत व्यय हेर्दा शिक्षातर्फको लगानी उल्लेख्य बढ्न सकेको छैन । चालु तर्फको खर्चको तुलनामा पुँजीगत तर्फको खर्चको अंश न्युन छ । शिक्षातर्फ पनि विसिभन्न ८ वटा उपशीर्शकगत खर्च गरिएको छ । नयाँ संविधान जारी भएको वर्ष सरकारले शैक्षिक पूर्वाधारमा लगानी बढाए पनि त्यसयता शिक्षामा लगानी वृद्धिदर आशलाग्दो छैन । आर्थिक वर्ष २०७१/७२ देखि आर्थिक वर्ष २०७९/८० सम्ममा सरकारले शिक्षामा ६ अर्ब ७१ करोड रुपैयाँमात्रै पुँजीगत लगानी गरेको देखिन्छ । यो यस अवधिको वार्षिक औसत ७४ करोड ६१ लाख रुपैयाँ हो भने वार्षिक औसत वृद्धिदर ५.५८ प्रतिशत हुन आउँछ ।

चित्र ६: शिक्षा क्षेत्रमा सरकारको पुँजीगत लगानी (रु.करोडमा)

श्रोतः सरकारको कार्यगत व्यय, नेपाल राष्ट्र बैंक

मानिसको मर्यादित जीवनस्तर उसको आयसंग सम्बन्धित हुन्छ । आय रोजगारीसंग सम्बन्धित हुन्छ र रोजगारी देशभित्र आर्थिक गतिविधि र यसको चलायमानसंग सम्बन्धित रहन्छ । सरकारले आर्थिक मामिला अन्तर्गत विभिन्न नौ वटा शीर्शकमा पुँजीगत खर्च गर्दै आइरहेको हुन्छ । यसको मुलभुत आसय देशभित्र आर्थिक गतिविधि चलायमान बनाई औद्योगिक वातावरण सिर्जना गरी रोजगारी र उद्यमशीलताको विकास नै हो ।दीगो र पर्याप्त रोजगारीले आय बढाई मर्यादित जिवन बाच्न सहज तुल्याउँछ । यसबाट मानव विकासमा ठूलो टेवा पुग्छ । अर्थात मानव विकासको लक्ष्य प्राप्तिका लागि सरकारले आर्थिक मामिलाको क्षेत्रमा लगानी बढाउनु अपरिहार्य हुन्छ । आर्थिक वर्ष २०७१/७२ देखि २०७९/८० को अवधिमा वार्षिक औसतमा १ खर्ब ३२ करोड रुपैयाँ आर्थिक मामिलाका क्षेत्रमा खर्च भएको छ । यस अवधिमा प्रतिव्यक्ति कुल राष्ट्रिय आय वार्षिक औसतमा ११६९ अमेरिकी डलर छ । देशभित्र वार्षिक औसत रोजगारी ७२ लाख ७२ हजार रहेको छ । यस अवधिमा आर्थिक मामिलातर्फको लगानी वार्षिक औसत वृद्धिदर ८ प्रतिशत छ । यसै अवधिमा वार्षिक औसत आय बृद्धिदर ६.१७ अमेरिकी डलर हुँदा वार्षिक औसत मानव विकास सूचकाङ्क ०.६१ प्रतिशतले बढेको छ।

चित्र ७आर्थिक मामिला  क्षेत्रमा सरकारको पुँजीगत लगानी (रु.करोडमा)

श्रोतः सरकारको कार्यगत व्यय, नेपाल राष्ट्र बैंक


मानव विकासका क्षेत्रमा देखापरेका चुनौती

 नेपालको मानव विकासको अवस्थामा क्रमशः सुधार भइरहेपनि लक्ष्य अनुरुपको प्रगति हासिल हुन सकेको छैन भने दक्षिण एसियाली मुलुकको तुलनामा नेपालको अवस्था कमजोर नै छ । नेपालको मानव विकासको क्षेत्रमा देहायका समस्यालाई चुनौतीको रुपमा हेरिएको छ ।

  • स्वास्थ्य, शिक्षा तथा रोजगारीका क्षेत्रमा सरकारको न्यून लगानी,
  • संविधानले नै सुनिश्चित गरेका हक अधिकारको कार्यान्वयनमा सुस्तता
  • रोजगारीका नयाँ अवसर सिर्जना गर्नमा सरकारी उदासिनता
  • आधुनिक सिपमूलक तालिमको कमीले श्रम बजारमा प्रतिस्पर्धा गर्न कठिनाइ,
  • ग्रामीण क्षेत्रका बासिन्दा गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहनु,
  • शिक्षा, स्वास्थ्य तथा आयमा असमानता कम गर्न नसक्नु,
  • न्यून पोषण तथा खाद्य सुरक्षा,
  • खर्चिलो तथा झण्झटिलो स्वास्थ्य सेवा,
  • जनसंख्याको ठूलो हिस्सा गरिबीको रेखामुनि रहनु
  • युवाहरूको बढ्दो विदेश पलायन,
  • महिलाहरूको शिक्षा, स्वास्थ्य, रोजगारी, तथा नेतृत्व तहमा न्यून पहुँच,
  • घरेलु हिंसा, बालविवाह, र लैङ्गिक विभेद लगायतका सामाजिक विकृति,
  • ग्रामीण क्षेत्रमा अत्यावश्यक पूर्वाधारको कमि,
  • आर्थिक अनियमितता र सुशासनको कमीले मानव विकासका कार्यक्रम प्रभावित हुनु,
  • बाढी, पहिरो, खडेरी लगायतका प्राकृतिक प्रकोपले मानव विकासमा नकारात्मक असर गर्नु,


Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More