विदेशी लगानीका कम्पनीको क्षमता उपयोग ७१.१, नाफाको दर १४.३ प्रतिशत

September 28, 2023

भारतबाट ८८ अर्ब ५९ करोड, चीनबाट ३३ अर्ब ४५ करोड, आयरल्यान्डबाट २० अर्ब ९० करोड, सिंगापुरबाट १६ अर्ब ७ करोड र सेन्ट किट्स एन्ड नेभिसबाट १५ अर्ब ९ करोड प्रत्यक्ष वैदेशिक लगानी 

आश्विन ११, २०८०सीमा तामाङ

काठमाडौँ — वैदेशिक लगानीमा सञ्चालित उत्पादनमूलक कम्पनीहरूको क्षमता उपयोग करिब ७१ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकको एक सर्वेक्षणले देखाएको छ । नेपालमा विभिन्न क्षेत्रका ५७ वटा राष्ट्रबाट प्रत्यक्ष विदेशी लगानी (एफडीआई) आएको र तीमध्ये उत्पादनमूलक कम्पनीको क्षमता उपयोग ७१.१ प्रतिशत रहेको राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण ०७८/७९ ले देखाएको छ ।

विदेशी लगानीका कम्पनीको क्षमता उपयोग ७१.१, नाफाको दर १४.३ प्रतिशत

 

समग्रमा विदेशी लगानीमा सञ्चालित उद्योगहरूको नाफाको दर औसत १४.३ प्रतिशत रहेको पनि प्रतिवेदनले देखाएको छ ।

प्रतिवेदनअनुसार नेपालमा आर्थिक वर्ष ०७८/७९ को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात १६ प्रतिशतले वृद्धि भई २ खर्ब ६४ अर्ब ३३ करोड कायम छ । कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजीको अंश ५३.७, सञ्चिति ३१.७ र कर्जाको अंश १४.६ प्रतिशत छ । ‘०७९ असार मसान्तसम्ममा नेपालमा ५७ देशको प्रत्यक्ष वैदेशिक लगानी छ ।

यसमध्ये भारतबाट सबैभन्दा बढी ८८ अर्ब ५९ करोड र त्यसपछि चीनबाट ३३ अर्ब ४५ करोड, आयरल्यान्डबाट २० अर्ब ९० करोड, सिंगापुरबाट १६ अर्ब ७ करोड र सेन्ट किट्स एन्ड नेभिसबाट १५ अर्ब ९ करोड प्रत्यक्ष वैदेशिक लगानी छ,’ प्रतिवेदनमा उल्लेख छ, ‘नेपालमा रहेको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ६२.६ प्रतिशत औद्योगिक क्षेत्रमा र ३७.३ प्रतिशत सेवा क्षेत्रमा देखिन्छ ।

औद्योगिक क्षेत्रअन्तर्गत जलविद्युत् क्षेत्रमा ३२.८ र उत्पादन क्षेत्रमा २९.५ प्रतिशत वैदेशिक लगानी छ । यसैगरी कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २५.६ प्रतिशत सेवा क्षेत्रअन्तर्गत बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीहरूमा छ ।’

अघिल्ला प्रायः वर्षमा नेपाल भित्रिने वैदेशिक लगानीको तुलनामा सोही अवधिमा नेपालबाट बाहिरिने लाभांशबापतको रकम धेरै रहँदै आएको थियो । तर आर्थिक वर्ष ०७८/७९ मा लाभांशबापत बाहिरिनेभन्दा भित्रिने विदेशी लगानी धेरै रहेको सर्वेक्षणले देखाएको छ । यसअनुसार आर्थिक वर्ष ०७८/७९ मा विदेशी लगानीमा रहेका कम्पनीले लाभांशबापत नेपालबाट १५ अर्ब ६७ करोड ५० लाख रुपैयाँ देशबाहिर लगेका छन् । सोही आर्थिक वर्षमा १८ अर्ब ५६ करोड ३ लाख रुपैयाँ भित्रिएको थियो । उक्त वर्ष ५४ अर्ब १५ करोड ८९ लाख विदेशी लगानी प्रतिबद्धता आएको थियो । प्रतिबद्धताको तुलनामा ३४.३ प्रतिशत मात्रै प्रत्यक्ष विदेशी लगानी भित्रिएको हो ।

आर्थिक वर्ष ०७७/७८ मा लाभांशबापत २६ अर्ब ७ करोड ६० लाख र आर्थिक वर्ष ०७६/७७ मा १२ अर्ब ९० करोड ३० लाख रुपैयाँ लाभांश बाहिरिएको राष्ट्र बैंककको तथ्यांक छ । सर्वेक्षणका आर्थिक वर्ष ०७८/७९ मा सबैभन्दा धेरै लाभांश उत्पादनमूलक उद्योगबाट बाहिरिएको छ । उक्त क्षेत्रबाट ७ अर्ब ३१ करोड ५५ लाख, सूचना प्रविधि क्षेत्रबाट ५ अर्ब ४० करोड २८ लाख, विद्युतीय क्षेत्रबाट १ अर्ब ६७ करोड ८१ लाख रुपैयाँ लाभांश बाहिरिएको सर्वेक्षणमा उल्लेख छ । सर्वेक्षणका अनुसार ०७९ असार मसान्तसम्म ५७ मुलुकबाट नेपालमा वैदेशिक लगानी भित्रिएको छ । मुलुकमा हालसम्म कुल २ खर्ब ६४ अर्ब रुपैयाँ बराबर प्रत्येक्ष वैदेशिक लगानी भित्रिएको छ ।

औद्योगिक क्षेत्रमा एफडीआईको हिस्सा सबैभन्दा धेरै ६२ प्रतिशत र ३७ प्रतिशत सेवा क्षेत्रमा आएको छ । नेपाल भित्रिने एफडीआईको तुलनामा नेपालबाट बाहिरिने लाभांशबापतको रकम धेरै रहेको राष्ट्र बैंकको एक सर्वेक्षणले देखाएको छ । ०७७/७८ मा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालितमध्ये १ सय ९७ कम्पनीको नमुना छनोट गरी राष्ट्र बैंकले सर्वेक्षण गरेको थियो । उक्त अवधिसम्म २ खर्ब २८ अर्ब बराबर एफडीआई मात्र लगानीमा रहेको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, ०७७/७८ मा उल्लेख छ ।

सर्वेक्षणका अनुसार आर्थिक वर्ष ०७७/७८ मा नेपालमा कुल १९ अर्ब ५१ करोड रुपैयाा एफडीआई भित्रिएको छ । तर सोही आर्थिक वर्षमा विदेशी लगानीबापतको लाभांशका रूपमा मात्र करिब २६ अर्ब रुपैयाँ बाहिरिएको थियो । यसरी फिर्ता हुने विदेशी लगानी र हरेक वर्ष लाभांशबापत बाहिरिने रकम जोड्दा ठूलो परिमाणमा विदेशी मुद्रा बाहिरिने जानकार बताउँछन् । हरेक वर्ष नेपाल भित्रिने एफडीआई सोही वर्षको मात्र हुने तर उक्त अवधिमा लाभांशका रूपमा बाहिरिने रकम हालसम्मको सबै एफडीआईको भएकाले भित्रिनेभन्दा बाहिरिने रकम धेरै देखिएको हुन सक्ने राष्ट्र बैंकले प्रस्ट्याएको छ ।

गत आर्थिक वर्षमा भने सबै महिनामा विदेशी लगानी उच्च दरले घटेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा विदेशी लगानी करिब ६८ प्रतिशतले घटेर ५ अर्ब ९६ करोड कायम भएको छ । अघिल्लो वर्ष खुद प्रत्यक्ष वैदेशिक लगानी १८ अर्ब ५६ करोड रुपैयाँ थियो । चालु आर्थिक वर्षको पहिलो महिनामा २ अर्ब ६५ करोडले विदेशी लगानी धनात्मक छ । अघिल्लो वर्षको सोही अवधिमा खुद प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब ४० करोड ऋणात्मक थियो ।

प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी आवश्यक तथ्यांक संकलन गरी लगानीको क्षेत्रगत अवस्था एवम् प्रवृत्ति विश्लेषणका आधारमा आवश्यक नीति निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले प्रत्येक आर्थिक वर्षमा स्थलगत सर्वेक्षण सम्पन्न गरी प्रतिवेदन प्रकाशन गर्दै आएको छ ।

आर्थिक वर्ष ०७८/७९ मा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित कम्पनीमध्ये कुल २ सय ३१ वटा कम्पनीको नमूना छनोट गरी सर्वेक्षणबाट प्राप्त तथ्यांक तथा अन्य विवरणका आधारमा प्रतिवेदन तयार पारेको जनाइएको छ ।

प्रकाशित : आश्विन ११, २०८० ०८:२९

स्रोत: https://ekantipur.com/business/2023/09/28/capacity-utilization-of-foreign-investment-companies-is-711-profit-rate-is-143-53-08.html 

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More