विदेश पलायन : तीव्र र डरलाग्दो समस्या

April 28, 2025

सुरेन्द्र काफ्ले, शाख ६, २०८२ शनिबार ९:३:९

विदेश पलायन : तीव्र र डरलाग्दो समस्या

काठमाडौं : २०५८ को जनगणनामा करिब ७.५ लाख नेपाली विदेशमा थिए, जुन कुल जनसंख्याको ३.३ प्रतिशत थियो । त्यसपछि २०६८ मा यो संख्या झन्डै १७ लाख पुग्यो—६.५ प्रतिशत । तर २०७८ सम्म आइपुग्दा, विदेशमा रहेका नेपालीहरूको संख्या २२ लाख नाघेको छ, कुल जनसंख्याको ७.९ प्रतिशतभन्दा बढी ।

२०५८ देखि २०६८ सम्मको १० वर्षमा आप्रवासन संख्या ६३ प्रतिशतले बढेको थियो । २०६८ देखि २०७८ सम्मको अर्को दशकमा यो वृद्धि ७३ प्रतिशत पुग्यो ।

दशकौंको अन्तरालमा नेपाली आप्रवासन संख्या दोब्बरभन्दा बढीमात्र हैन, गन्तव्य, लिंगीय विस्तार र प्रवृत्तिहरूसमेत फेरिइसकेका छन् । अब आप्रवासन भन्नासाथ केवल खाडी मुलुक र श्रमिकमात्र सम्झनुपर्ने अवस्था छैन । क्यानाडा, अस्ट्रेलिया, अमेरिका, जापान—रोजगारीदेखि स्थायी बसोबाससम्म, आप्रवासनको कथा फरक धारमा बगिरहेको छ ।

फेरिँदो गन्तव्य, बढ्दो आकांक्षा
पछिल्लो दुई दशकमा नेपाली जनसंख्याको एक उल्लेख्य हिस्सा देशबाहिरको जीवन रोज्न थालेको तथ्यांकले देखाउँछ । तर यो आप्रवासन अब पहिलेझैं केवल श्रमको खोजीमा सीमित छैन—शिक्षा, स्थायी बसोबास, परिवार पुनर्मिलन, व्यवसाय र जीवनस्तर उकास्ने चाहनासमेत जोडिन थालेका छन् ।

गन्तव्यको धार परिवर्तन भएको छ । सन् २००० अगाडिसम्म नेपाली आप्रवासन मुख्यत :  भारत र खाडी मुलुकहरूतर्फ केन्द्रित थियो । तर २०२० पछिसम्म आइपुग्दा, अस्ट्रेलिया, अमेरिका, क्यानाडा, जापानलगायतका मुलुकमा स्थायी बसोबास गर्ने वा अध्ययन–रोजगारीको नाममा बस्नेहरूको संख्या तीव्र गतिमा बढेको छ ।

नेपाल सरकारको तथ्यांकअनुसार, २०५८ मा विदेशमा रहेका नेपालीको करिब ९० प्रतिशत पुरुष थिए । अहिले यो अनुपात पनि फेरिँदै छ—महिला आप्रवासनको दर पनि उल्लेख्य रूपमा बढेको छ । अध्ययन, वैवाहिक पुनर्मिलन र पेसागत कारणले महिलाहरूको सहभागिता अब ‘अदृश्य’ होइन ।

मूल प्रवृत्तिमात्र हैन, आप्रवासनको स्वरूप पनि गहिरिँदै गएको छ । पहिलेभन्दा धेरै नेपालीहरू ‘ट्रान्जिट देशहरू’ हुँदै पश्चिमी मुलुकमा स्थायी बसोबास गर्न खोजिरहेका छन् । शिक्षाका लागि विदेश जानेलाई अब अवसरमात्र होइन, बाँच्ने विकल्पको रूपमा हेर्न थालिएको छ । यही कारण, अस्ट्रेलियामात्र हैन, अमेरिका र क्यानाडामा रहेका नेपाली विद्यार्थीहरू स्थायी बसाइको बाटो रोज्ने क्रम तीव्र बन्दै गएको छ ।

विज्ञहरू भन्छन्– नेपालका सन्दर्भमा यो ‘ब्रेन ड्रेन’मात्रै होइन, ‘होप ड्रेन’ पनि हो । देशभित्रको आर्थिक, राजनीतिक अस्थिरता र अवसरको अभावले अब युवाहरू मात्र हैन, बीच उमेरसमूह र दक्ष जनशक्तिहरू समेत आप्रवासनको बाटो रोज्न थालेका छन् ।

किन बिदेसिन्छन् नेपालीहरू 

नेपालमा रोजगारीको कमी, राम्रो शिक्षा नपाइनु, राजनीतिक अस्थिरता, भ्रष्टाचार र जीवनस्तर सुधार्ने चाहनाले नेपालीहरूलाई बिदेसिन प्रेरित गरिरहेको छ । युवाहरू भन्छन्, ‘यहाँ मेहनतले मात्र पुग्दैन, अवसर नै छैन ।’

null

कोही साउदी गएका छन्, कसैले जापान । कोही अमेरिका पढ्न गएका छन्, कोही अस्ट्रेलिया । युवा पुस्ताका लागि विदेश सपनाको देश हो । त्यहाँ काम छ, पैसा छ, अवसर छ । नेपालमा भने असमझदारी, बेरोजगारी र निराशा छ ।

मुख्य गन्तव्य देशहरू
नेपालबाट सबैभन्दा धेरै जाने देशहरूमा खाडी मुलुकहरू अग्रपंक्तिमा छन्— साउदी अरेबिया, कतार, यूएई, कुवेत, ओमान, बहराइन । यी देशहरूमा नेपालीहरू निर्माण, घरेलु काम, सुरक्षा र ड्राइभरजस्ता सेवा क्षेत्रमा कार्यरत छन् । तर पछिल्ला वर्षहरूमा युवाहरू युरोप, अमेरिका, क्यानाडा, अस्ट्रेलिया र जापानतर्फ पनि बढ्दै गएका छन् । विदेश जानेको लहर शिक्षा र स्थायी बसाइँसराइतर्फ पनि मोडिएको छ ।

महिलाको संख्या बढ्दै
२०५८ मा बिदेसिनेमा महिला अलि थोरै थिए । २०६८ मा उनीहरूको संख्या तीन लाख हाराहारी थियो । तर २०७८ मा यो संख्या ८ लाख 
पुगिसकेको छ ।

विदेश जानुका कारणहरू
  •     पढाइको नाममा रोजगारी गर्ने। विद्यार्थीको रूपमा गएर काम खोज्ने।
  •     नेपालमा ज्याला न्यून, शिक्षा अनुसार रोजगारी नहुनु।
  •     शिक्षा स्नातक ४ वर्षे र महँगो भएको, पढाइमा सीप हासिल नहुने।
  •     छिमेकीको देखासिकी। वल्लो घर पल्लो घर सबै गइसके, मेरो छोराछोरी गएनन् भन्ने।
  •     जीवनशैशी विशेषगरी महिला। स्वतन्त्र रूपमा आफं कमाएर इच्छाअनुसार जिउने, भनेको खानलाउन, दिन सक्ने अवस्था। 

महिलाहरू घरेलु कामदार, नर्सिङ, हेरचाह, होटल तथा रेस्टुरेन्ट र केही पेसागत क्षेत्रमा विदेश गएका छन् । महिला आप्रवासन बढ्नुलाई सकारात्मक परिवर्तनका रूपमा हेर्नेहरू पनि छन्— उनीहरू घरभित्र मात्रै सीमित छैनन्, विश्व घुम्न थालेका छन् । तर अर्कातर्फ, जोखिम, मानव तस्करी र शोषणको खतरा अझै उस्तै छ ।

पढ्न जानेको संख्या ह्वात्तै बढ्यो
पछिल्ला वर्षहरूमा विद्यार्थीका रूपमा विदेश जाने युवाको संख्या उल्लेख्य रूपमा बढेको छ ।२०६८ मा २५ हजार विद्यार्थी विदेश पढ्न गएका थिए ।
२०७८ मा त्यो संख्या १ लाख २६ हजार पुगेको छ । यसले के देखाउँछ भने, नेपाली शिक्षामा युवाहरूको भरोसा घट्दै गएको छ । परिवारले लाखौं खर्च गरेर पनि छोराछोरीलाई विदेश पढाउन तयार छन् । किनभने उनीहरूले नेपालमा भविष्य नदेखेका छन् ।

विदेश आप्रवासनको बढ्दो दरले नेपालमा गम्भीर सामाजिक र आर्थिक चुनौतीहरू ल्याउने संकेत गर्छ । यसलाई रोक्न सरकार र सरोकारवालाहरूले संयुक्त प्रयास गर्न आवश्यक छ । राष्ट्रिय तथ्यांक कार्यालयका उपप्रमुख तथा प्रवक्ता ढुण्डीराज लामिछाने भन्छन्, ‘बढ्दो आप्रवासनको दरले देखाउँछ कि नेपाली युवाहरूको ठूलो हिस्सा रोजगारी, शिक्षा र अन्य अवसरको खोजीमा विदेश पलायन भइरहेका छन् । यसले देशको सामाजिक र आर्थिक संरचनामा गम्भीर असर पार्न सक्छ ।’

ब्रेन ड्रेनको चिन्ता
विदेश पढ्न जानेमध्ये धेरैजसो फर्किँदैनन् । उनीहरू उतै जागिर खान्छन्, विवाह गर्छन्, बसाइँ सर्छन् । यसो हुँदा नेपालले आफ्नो सीपयुक्त, शिक्षित जनशक्ति गुमाइरहेको छ । शिक्षक, इन्जिनियर, डाक्टर, सूचना प्रविधि विज्ञजस्ता दक्ष जनशक्ति नेपालमा अभाव भइरहेका बेला उनीहरू विदेश पलायन भइरहेका छन् । यो चिन्ताको विषय हो— देशभित्रको विकास गर्ने जनशक्ति बाहिर गइरहेको छ ।

युवाविहीन गाउँ
काभ्रे, संखुवासभा, पाल्पा, अर्घाखाँची, दार्चुलाजस्ता जिल्लामा पुग्दा गाउँहरू सुनसान देखिन्छन् । १५–४० वर्ष उमेरसमूहका अधिकांश युवा विदेश गएका छन् । बाँकी छन्— बालबालिका, वृद्धवृद्धा र महिलाहरू । ‘छोराहरू सबै साउदी गएका छन्, अब खेत कसले जोत्ने ?’ भोजपुर जरायोटारका किसान नइन्द्र राई चिन्ता जनाउँछन् । 
आप्रवासनको आर्थिक पक्ष

  •   बिदेसिएका नेपालीहरूले देशमा अर्बौं रुपैयाँ पठाउँछन् ।
  •  नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा वैदेशिक रोजगारीबाट आएको रेमिट्यान्सको योगदान झन्डै २४ प्रतिशत छ ।यसको अर्थ, हामी विदेशबाट आएको पैसामा आश्रित छौं ।
  •   घर बनाउने, ऋण तिर्ने, छोराछोरी पढाउने, गाडी किन्नेजस्ता कामहरू रेमिट्यान्सकै भरमा भइरहेका छन् । तर, दीर्घकालीन विकासका लागि यो भरपर्दो उपाय होइन भन्ने विज्ञहरूको चेतावनी छ ।

विकल्प खोज्नुपर्ने समय
यदि देशमा रोजगारीका अवसरहरू पर्याप्त भए, व्यवसाय गर्न सहज हुन्थ्यो, शिक्षाको गुणस्तर राम्रो हुन्थ्यो भने— धेरै नेपाली यति ठूलो संख्यामा विदेश जाने थिएनन् ।

सरकारले नीतिगत सुधार, लगानी प्रवर्द्धन, युवालाई उद्यम गर्न प्रेरणा दिने कार्यक्रम ल्याउनुपर्छ । बिदेसिने लहर रोकिनु भनेको देशको शक्ति देशमै रहनु हो ।

त्यसैले नीति निर्माणकर्ताहरूले वैदेशिक रोजगारीलाई आपत्कालीन उपायको रूपमा हेरेर दीर्घकालीन समाधान खोज्नुपर्ने बेला आएको छ । 

null

अब के त ? 
बिदेसिने नेपालीहरूको लहर दिनप्रतिदिन बढ्दो छ । यसले सामाजिक संरचना, जनसंख्या सन्तुलन, श्रम बजार र भविष्यको विकासमा गहिरो असर पारिरहेको छ ।
रोजगारी, शिक्षा र सुरक्षित भविष्यको खोजीमा लाखौं नेपाली घर–परिवार, गाउँ–ठाउँ, देश–परदेश छाड्न बाध्य छन् । तर यो बाध्यता कहिलेसम्म ? कुन दिन आउला, जब नेपालीहरू ‘देशमै राम्रो हुन्छ’ भन्दै बिदेसिन 
छाड्लान् ? 

खाली गाउँ, खाली घर

  • गाउँघरमा युवा भेट्न गाह्रो छ ।
  • टोलैभरि वृद्धबृद्धा र महिलामात्रै छन् ।
  • शिक्षा सकेर, काम पाएर वा पैसा कमाउने चाहनाले युवाहरू गएका छन् ।
  • कुनै कामको सिलसिलामा घर फर्कँदा, गाउँहरू सुनसान लाग्छन् ।
  • गाउँमा उत्सव र चाडबाडको चमक पनि मन्द हुँदै गएको छ ।
  • बैतडीका शिक्षक अर्जुन थापा भन्छन्, ‘शिक्षा पूरा गर्नासाथ बालबालिका सहर जान्छन्, त्यसपछि विदेश ।’
  • गाउँमा शारीरिक श्रम गर्ने उमेरका मानिस छैनन् ।
  • यसले कृषि उत्पादन घटेको छ, खेत बाँझो बस्न थालेका छन् ।
  • जनशक्तिको अभावले गाउँको विकास र पूर्वाधार योजनाहरू अलपत्र छन् ।

अभिभावक विदेश
धेरै परिवारको मुख्य कमाउने सदस्य विदेशमा छन् । यसले बालबालिकाको हेरचाह, वृद्धवृद्धाको सेवा, घरको सामाजिक संरचनामा असर पारेको छ । श्रीमान् गएका, श्रीमतीले घर सम्हालेका—तर मानसिक तनाव बढेको छ । बुवा–आमा टाढा हुँदा बालबालिकामा अनुशासन, व्यवहार र सामाजिक अभाव देखिन्छ । यसले दीर्घकालीन असर पार्न सक्छ । सामाजिक अभियन्ता भावना आचार्य भन्छिन्, ‘बच्चा हुर्काउने जिम्मेवारी आमा एक्ली परेकी हुन्छिन्, बुबाको उपस्थिति केवल भिडियो कलमा सीमित हुन्छ ।’ शिक्षकहरू भन्छन्, ‘बिदेसिएका बाबु–आमा भएका विद्यार्थीमा भावनात्मक दूरी देखिन्छ ।’ 

मानवीय जोखिम बढ्दो
आप्रवासनको लहरसँगै जोखिम पनि बढेको छ । एउटा ठूलो हिस्सा असंगठित र अनौपचारिक प्रक्रियाबाट बिदेसिन्छ । एजेन्टमार्फत गएकाहरू ठगिन्छन्, काम नपाएर अलपत्र पर्छन् । कतिपय देशमा श्रमिक शोषण, तलब नपाउने, आपराधिक मुद्दा लाग्ने समस्यासम्म छन् ।

विदेश मन्त्रालयका अनुसार, विदेशमा मृत्यु हुने नेपालीहरूको संख्या बढ्दो छ । बर्सेनि औसत १२ सय नेपालीको शव नेपाल फर्किन्छ ।
धेरैजसो कारण :  दुर्घटना, आत्महत्या, स्वास्थ्य समस्या र कार्यस्थलमा हुने हिंसा । तर मृतक परिवारलाई राहत न व्यवस्था, न क्षतिपूर्ति पाउने प्रक्रिया छिटो हुन्छ ।

लिंगीय असमानता र चुनौती
महिला आप्रवासन बढे पनि जोखिम अझै उच्च छ । घरेलु कामदारका रूपमा जाने महिलाहरूलाई अत्यधिक शोषण, हिंसा र दुर्व्यवहारको सामना गर्नुपर्छ ।

धेरैजसो अनपढ वा कमजोर आर्थिक पृष्ठभूमिकी महिलाहरू पर्ने भएकाले तिनले कानुनी सहायता खोज्न पनि सक्दैनन् ।
सरकारले खाडी मुलुकमा घरेलु कामदार पठाउनेमा रोक लगाए पनि, अवैध बाटो हुँदै जानेको संख्या घटेको छैन ।

सामाजिक असर  :  विवाह, संस्कृति, सम्बन्ध
विदेश बसाइँले विवाह ढिलो हुन्छ । कति त विवाहित भए पनि बिछोडमा बाँच्नु परेको छ । दुवै श्रीमान– श्रीमती छुट्टाछुट्टै देशमा, सम्बन्धमा दूरी र असमझदारी बढ्ने खतरा छ ।

केही अवस्थामा सम्बन्धविच्छेद पनि हुने गरेका छन् । विदेशको संस्कार–संस्कृति आत्मसात् गर्दै गर्दा नेपालीपनमा असर पर्न 
थालेको छ । परिवार, चाडबाड, संस्कारका मूल्य–मान्यता खस्किँदै छन् । यसले सामाजिक एकता र नेपाली पहिचानलाई कमजोर पार्न सक्छ ।

राज्यको उदासीनता
नेपाल सरकारको नीति अझै विदेश पठाउनेमा केन्द्रित छ । विदेश जान चाहनेलाई तालिम दिने, श्रम अनुमति दिने काममा बढी ध्यान छ ।
तर फर्कनेको पुनस्र्थापना, सीपको उपयोग, लगानी भिœयाउने नीति भने कमजोर छन् ।

तथ्यांकविज्ञ ढुण्डीराज लामिछाने भन्छन्, ‘आपत्कालीन अवस्थामा वैदेशिक रोजगारी सहारा हो, तर दीर्घकालमा स्वदेशमै अवसर सिर्जना गर्नुपर्छ ।’ उनको सुझाव छ, ‘फर्केका आप्रवासीहरूलाई उद्यममा लगाउन नीति बनाउनुपर्छ, नत्र यो लहर देशका लागि घातक बन्न सक्छ ।’

फर्कनेहरूलाई अवसर छैन
कति नेपालीहरू विदेशबाट फर्किए पनि नेपालमा आफूलाई उपयोगी ठान्दैनन् । त्यहाँको तलब र जीवनशैलीसँग तुलना गर्दा, यहाँ गरिबी महसुस हुन्छ ।

फर्केर व्यवसाय गर्न खोज्दा बैंकको ऋण प्रक्रिया झन्झटिलो हुन्छ, सरकारी निकायको व्यवहार असहयोगी हुन्छ । बाग्लुङका एक फिर्ती आप्रवासी कृष्ण थापा भन्छन्, ‘विदेशमा १२ वर्ष काम गरेँ, केही बचत ल्याएँ । खेती गर्ने योजना थियो, तर मल–बिउ पाइँदैन, बजार छैन । फेरि विदेश जान मन लाग्न थालिसक्यो ।’ 

समय यस्तो आयो 
१० वर्षअघि विदेश जाने नेपालीहरूको संख्या वार्षिक दुई लाख हाराहारी थियो । आज, यो संख्या सात लाख नाघिसकेको छ । अध्ययन, रोजगारी र स्थायी बसोबासका लागि नेपालबाट बिदेसिने लहरले रेकर्ड तोड्दै गएको छ । र, यो संख्या अझ बढ्ने संकेत देखिन्छ ।

गन्तव्य बदलिन थाल्यो
एक समय थियो, जब नेपालीहरूको आप्रवासन साउदी, कतार र मलेसियामै सीमित थियो । तर आज, प्राथमिक रोजाइ बनेका छन्— अस्ट्रेलिया, क्यानाडा, जापान र अमेरिका । खाडी मुलुकतर्फको लहर घट्दो छ भने विकसित राष्ट्रतर्फको लहर तीव्र गतिमा बढ्दो छ ।

बिदेसिनेमा महिला पनि बढे
कसैले सोचेकै थिएन—एक दशकअघि बिदेसिनेहरूमा महिलाको संख्या कुलको ५ प्रतिशतमात्र थियो । आज यो १५ प्रतिशत नाघिसकेको छ, विशेषत :  स्वास्थ्य सेवा र घरेलु काममा । आप्रवासन अब पुरुष मात्रको कथा छैन, महिलाहरूको संलग्नता झनै बढ्दैछ ।

दशक–दशकमा दोब्बर

  • २०५८ मा ७ लाख ६२ हजार नेपालीले विदेशको बाटो समातेका थिए । 
  • २०६८ मा यो संख्या १२ लाख ९ हजार पुग्यो । 
  • २०७८ मा २१ लाख ८० हजार ।
  • अर्थात् २०५८ बाट २०६८ सम्मको दशकमा झन्डै ५५ प्रतिशत वृद्धि । 
  • ०६८ बाट २०७८ सम्मको अर्को दशकमा करिब ८० प्रतिशत । 
  • २० वर्षमै यो संख्या तीन गुना नाघेको छ ।
  • यो आप्रवासनको गति हेर्दा लाग्छ—भोलिको नेपाल, नेपालमै छैन । 
  • भोलिका इन्जिनियर, डाक्टर, नर्स, प्लम्बर, शिक्षक—सबै विदेशतिर लागेका छन् ।

मुख्य समस्या  :  बेरोजगारी 
सरकारका आँकडाअनुसार, २०८० सालको मात्र ९ महिनामा ५ लाख ३९ हजार नयाँ श्रमिकले वैदेशिक रोजगारीको अनुमति लिए । 
यही अवधिमा २ लाख १० हजार पुराना कामदारले पुन :  श्रम स्वीकृति लिए । त्यसमा पनि २ लाखभन्दा बढी नेपाली मलेसिया, कतार, यूएई, साउदी अरेबिया र कुवेत गएका छन् । यी पाँच खाडी मुलुक र मलेसिया—नेपालीका प्रमुख गन्तव्य हुन् ।

स्रोत: https://annapurnapost.com/story/476979/ 

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More