वैशाख ३१, २०८२, ममता थापा
काठमाडौं : आर्थिक वर्ष ०८१/८२ को सुरुवाती महिना (साउनदेखि) नै अमेरिकी डलरको विनिमयदर उच्च भइरहेको छ। जसका कारण नेपाली रुपैयाँ निरन्तर अवमूल्यन भइरहेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आव सुरु भएयता हरेक महिना नेपाली मुद्दा अबमूल्यन दर बढ्दै गएको छ।
साउनदेखि चैतसम्म औसत १.९७ प्रतिशतले नेपाली रुपैयाँ अवमूल्यन भएको छ। सबैभन्दा बढी फागुन महिनामा डलरसँग नेपाली रुपैयाँ ४.२२ प्रतिशतले अवमूल्यन भएको थियो। सो महिनामा डलरको विनिमय दर हालसम्मकै उच्च अर्थात् बिक्रीमूल्य १ डलर बराबर १ सय ३९ रुपैयाँ ५५ पैसासम्म पुगेको थियो।
चालु आव सुरुदेखि नै डलर बलियो हुँदै जाँदा भारतीय मुद्रा र नेपाली रुपैयाँ भने कमजोर बन्दै गए।
अन्तर्राष्ट्रिय स्तरमै सुरक्षित मुद्रा ठानिने भएकाले अधिकांश मुलुकले रिजर्भ राख्ने गरिएकाले अमेरिकन डलरको माग बढेको र पछिल्ला दिनमा मूल्य अकासिएको अनुमान गरिएको छ। विज्ञकाअनुसार भारतीय मुद्रासँगको अन्तआबद्धताका कारण डलर बढ्दा भारु कमजोर भएकाले नेपाली मुद्रा पनि स्वाभाविक रूपमा कमजोर हुन्छ। सरकारले नेपाली रुपैयाँलाई भारतीय रुपैयाँसँग स्थिर विनिमय दर अनुपात भारतीय १ रुपैयाँको नेपाली १ रुपैयाँ ६० पैसा राखेको छ। डलरको तुलनामा भारु पनि कमजोर हुँदै गएको छ। विनिमय दरको उतारचढावसँगै प्राय भारु नै डलरको तुलनामा क्रमशः खस्किँदै गयो। नेपाली मुद्रा भने केही समय बलियो पनि देखियो। असोजको पहिलो साता एक अमेरिकी डलर विनिमय दरको १ सय १७ देखि १ सय १८ रुपैयाँ हाराहारीमा रह्यो। त्यतिबेला भने डलर कमजोर अर्थात् अवमूल्यन भएको थियो। तर, यो अवस्था धेरै समय रहेन। असोज अन्तिम सातादेखि फेरि यसको बिक्रीदर १ सय २१ रुपैयाँ नाघ्यो। असोज २७ मा एक डलरको विनिमय दर १ सय २१ रुपैयाँ १२ पैसा पुग्यो । तर, अहिले सो दरभन्दा पनि निकै बढी पुगेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ।
यद्यपि फागुनमा उच्च भएको डलर वैशाखमा थोरै घटेको छ। राष्ट्र बैंकले मंगलबारका लागि एक अमेरिकी डलरको बिक्री दर अर्थात् विनिमय दर १ सय ३६ रुपैयाँ ९० पैसा पुगेको छ। यस्तै सो दिनको खरिद दर भने १ सय ३६ रुपैयाँ ३० पैसा पुगेको छ। अमेरिकन अर्थतन्त्रको प्रभुत्व विश्वव्यापी हँुदा डलर महँगियो।
अमेरिका र उसको मुद्राप्रतिको विश्वास बढी भएकाले पनि क्रमशः महँगो हुँदै गएको बताउँछन् अर्थविद् डा. रमेश पौडेल। उनका अनुसार सबैभन्दा धेरै व्यापार गर्ने मुलुकले डलरमै कारोबार गर्छन्। ‘अहिलेसम्म जेसुकै कारणले पनि अमेरिकन अर्थतन्त्रको प्रभुत्व विश्वव्यापी अर्थतन्त्रमा छ,’ डा. पौडेल भन्छन्, ‘विश्वबजारमा हेर्दा अधिकांशले पेट्रोलियम पदार्थमा, गरगहना (सुन, हीरा) डलरमा रिजर्भ गर्ने चलन छ।
यसैले पनि अरू मुद्राको भन्दा बढी डलरमा आकर्षण देखिँदै आएको छ। पछिल्लो समय विश्व बजारमा पेट्रोलको मूल्य केही घट्दो छ र सुन, डाइमन्डको मूल्य स्थिर छ।’ यससँगै, नेपाली रुपैयाँको मूल्य अवमूल्यन हुनुको कारण भारुसँगको अन्तरआबद्धता (पेग) छ। ‘ग्लोवल स्ट्यान्डर्डमा डलरको तुलनामा भारु कमजोर भयो। त्यसको प्रभाव नेपाली रुपैयाँलाई परेको हो,’ डा.पौडेलले अन्नपूर्णसँग भने।
राष्ट्र बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक तथा प्रवक्ता रामु पौडेल नेपाली रुपैयाँ भारतको मुद्रासँग पेग हुनु, अन्तर्राष्ट्रिय बजारमा भारु डलरसँग मूल्यन वा अवमूल्यन भइरहने बताउँछन्।
‘सोही आधारमा नेपालले पनि क्रस मूल्य लिने हो। भारुसँग मात्रै पेग हो। अन्य मुद्रासँग जसरी नेपाली रुपैयाँ मूल्यन तथा अवमूल्यन हुन्छ सोहीअनुरूप डलरसँग हुने हो,’ उनले भने ,‘यद्यपि डलर बढ्दा फाइदा र बेफाइदा दुवै छ।
आयात धेरै हुँदा नेपालको खर्च बढी हुने भएकाले बेफाइदा छ। तर, रेमिट्यान्स पठाउनेलाई भने बढी पैसा पाउने भएकाले फाइदा हुने भयो। यससँगै, डलर बढेको मूल्यमा निर्यात गर्दा बढी आम्दानी हुने, पर्यटन बढ्दा पनि राम्रै आय हँुदा फाइदा हुने भयो।’ यसर्थ डलर बढेसँगै हामीले गर्ने आम्दानीमा फाइदा भएको छ भने खर्च गर्ने क्षेत्रमा बेफाइदा भएको उनले बताए।
अमेरिकी डलरसँग नेपाली रुपैया कुन महिना कतीले अवमूल्यन ?
गत असार मसान्तको तुलनामा २०८१ चैत मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ २.९२ प्रतिशतले अवमूल्यन भएको छ। जबकी गत वर्षको सोही अवधिमा नेपाली रुपैयाँ १.२३ प्रतिशतले अवमूल्यन भएको थियो। अझ यसअघिको फागुन मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ ४.२२ प्रतिशतले अवमूल्यन भयो।
जबकि यसको गत आवको सोही अवधिमा नेपाली रुपैयाँ ०.७३ प्रतिशतले अवमूल्यन भएको थियो। चालु आवको फागुन मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर १३९.२४ रुपैयाँ पुग्यो।
यसैगरी माघ मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ ३.८० प्रतिशतले अवमूल्यन भयो। जबकि गत वर्षको सोही अवधिमा नेपाली रुपैयाँ १.०५ प्रतिशतले अवमूल्यन भएको थियो। पुस मसान्तमा पनि अमेरिकी डलरसँग नेपाली रुपैयाँ २.८३ प्रतिशतले अवमूल्यन भएको थियो। जबकी गत वर्षको सोही अवधिमा नेपाली रुपैयाँ ०.९१ प्रतिशतले अवमूल्यन भएको थियो। यसैगरी मंसिर मसान्तमा १.४८ प्रतिशतले, कात्तिक मसान्तमा १.०२ प्रतिशतले, असोज मसान्तमा ०.६ प्रतिशतले, भदौ मसान्तमा ०.४ प्रतिशतले, साउन मसान्तमा ०.५ प्रतिशतले अमेरिकी डलरसँग नेपाली रुपैयाँ अवमूल्यन भएको थियो।
डलर बढ्दाका फाइदा बेफाइदा
फाइदा : रेमिट्यान्स, निर्यात र पर्यटन
बेफाइदा : आयात महँगो, विकास निर्माणको लागत बढ्ने, वैदेशिक ऋण भुक्तानी बढी हुने
डलरको मूल्य बढ्नु भनेको नेपालको मूल्य अवमूल्यन हुनु हो। यसो हँुदा नेपालले आयात गर्ने बस्तु महँगो पर्न जान्छ भने निर्यात गर्ने वस्तु सस्तो पर्न जान्छ। किनभने निर्यातको झन्डै १० गुणा जति आयात गर्नुपर्ने अहिलेसम्मको स्थिति छ। नेपालले अधिकांश वस्तु आयात गरेर उपभोग गर्नुपर्ने भएकाले डलरको भाउ बढ्दै जाँदा भान्सा महँगो हुन्छ। खरिद वस्तुको सबै मूल्य बढ्दै जान्छ।
डलर बढिरहेका बेला उद्योग फस्टाएको खण्डमा निर्यात प्रबद्र्धन गर्नलाई राम्रो अवसर् भएको अर्थविद् डा.पौडेल बताउँछन्। तर, मुलुक आयातमा आधारित अर्थतन्त्र भएको हुनाले डलरको मूल्य बढी पर्दा नेपालको मूल्य बढी बाहिरिन्छ। यसो हुँदा घाटा हुन्छ। अर्थविद् डा. पौडेलकाअनुसार नेपालले विकास निर्माणका कामका लागि जती पनि वस्तु तथा सेवा आयात गरिन्छ। त्यो पनि महँगो परिरहेको छ। यसकारण डलर बढ्दा आयोजनाको लागत समेत बढ्दै गएको छ। अझ समयमा यस्ता आयोजना नबन्दा लागत बढ्ने देखिन्छ। उनले भने, ‘यसअवस्थामा निर्यातमा राम्रो गर्न सकेको भए अन्तर्राष्ट्रिय मूल्यको तुलनामा उत्पादन लागत कम हुन्थ्यो र अन्तर्राष्ट्रिय बजारमा हाम्रा वस्तु सस्तो पथ्र्यो।’ तर नेपालले उत्पादनमूलक क्षेत्र (म्यानुफ्याक्चर्स सेक्टर)मा हात हालेर वृद्धि गर्न नसक्दा यसबाट खासै लाभ लिन नसकेको उनको भनाइ छ। विकास निर्माणका कामसँगै नेपालले लिएको वाह्य ऋणको साँवा तथा व्याज भुक्तानी चर्को पर्न जाने उनले औंल्याए।