चर्काे ब्याजदरले कर्जाको माग घट्न थाल्यो

November 24, 2022

नयाँ पत्रिका, मंसिर ७, २०७९

चालू आर्थिक वर्षको पहिलो तीन महिनामा ८४ अर्बभन्दा बढी निक्षेप थपिँदा ३६ अर्बको कर्जा लागत बढ्यो

लामो समय लगानीयोग्य पुँजी अभाव भोग्दै आएका वाणिज्य बैंकहरूलाई गत असोजसम्म बजारमा कर्जा प्रवाह गर्न असम्भव नै थियो । तर, कात्तिकयता ब्याजदर महँगिएपछि वाणिज्य बैंकहरूमा कर्जाको माग घट्न थालेको छ । बैंकहरूको आधारदर नै वृद्धि हुँदा कर्जाको ब्याजदर महँगो भएसँगै बैंकमा लगानीको माग घट्न थालेको हो । 

बैंकहरूले कर्जा प्रवाहका लागि जुटाउने प्रमुख स्रोत निक्षेप हो । पछिल्लो तीन महिनाको आँकडाअनुसार बैंकहरूमा निक्षेप थुप्रिँदै गइरहेको देखिन्छ । नेपाल बैंकर संघका अनुसार एक महिनामा वाणिज्य बैंकहरूमा १६ अर्ब १९ करोड निक्षेप थपिएको छ । यो कात्तिक महिनाको तथ्य हो । संघका अनुसार गत कात्तिक ३० गतेसम्म बैंकहरूमा निक्षेप ४५ खर्ब ६३ अर्ब रुपैयाँ पुगेको छ । यो गत असोज मसान्तको तुलनामा १६ अर्ब १९ करोड रुपैयाँ बढी हो । 

वाणिज्य बैंकहरूले उच्चदरमा ब्याज दिन थालेसँगै निक्षेपमा आकर्षण बढ्दै गइरहेको छ । चालू आर्थिक वर्षको साउनमा १२ अर्ब ७९ करोड रुपैयाँले निक्षेप घटेको थियो । तर, भदौ लागेयता निक्षेप बढ्दै गएको संघको तथ्यांकले देखाएको छ । पछिल्ला तीन महिनामा बैंकहरूमा ८४ अर्ब ७३ करोड निक्षेप थपिएको छ । तर, तीन महिनामा बैंकहरूबाट कुल ३६ अर्ब ५३ करोड मात्रै कर्जा प्रवाह भएको छ । 

वाणिज्य बैंकहरूले कर्जाको ब्याजदर बढाएसँगै बजारमा माग घट्न थालेको संघको तथ्यांकले देखाएको हो । कात्तिकको तथ्यांकअनुसार बैंकहरूमा १६ अर्ब १९ करोड रुपैयाँ निक्षेप थपिँदा एक अर्ब २६ करोड कर्जा लगानी भएका छन् । अर्थात्, बैंकहरूले सय रुपैयाँको स्रोत जोहो गरिरहँदा सात रुपैयाँ मात्रै कर्जा लगानी गरिरहेका छन् । 

बैंकहरूले गत असोजबाट निक्षेपको ब्याजदर बढाएसँगै लागत बढ्ने हुँदा कर्जाको ब्याजदर बढाएका हुन् । निजी क्षेत्रको दाबीअनुसार हाल केही बैंकहरूले कर्जाको ब्याजदर १८ प्रतिशतसम्म असुलिरहेका छन् । कोभिडबाट प्रताडित उद्योग–व्यवसाय तंग्रिन नपाउँदै लगानीयोग्य पुँजीको मार खेपिरहेका निजी क्षेत्रमा अहिले ब्याजदर वृद्धिले मन्दीतर्फ धकेल्ने तनाव बढाएको छ । 

सहज बन्दै कर्जा निक्षेप अनुपात
चालू आर्थिक वर्षका चार महिनाको तथ्यांकअनुसार साउनदेखि कात्तिकसम्म कर्जा निक्षेपको अनुपातमा सुधार आइरहेको छ । साउनमा यस्तो अनुपात औसतमा ८८.०७ प्रतिशत थियो । त्यसपछि भदौमा ८७.२१ प्रतिशतमा झर्‍यो । कर्जाको तुलनामा निक्षेपको हिस्सा बढ्दै जाँदा यस्तो अनुपात घट्ने क्रम बढ्दै गइरहेको तथ्यांकले देखाउँछ । असोजमा ८७.२ प्रतिशत पुगेको यो अनुपात कात्तिकसम्म आइपुग्दा ८७.१९ प्रतिशत पुगेको छ ।

स्रोत: https://www.nayapatrikadaily.com/news-details/100882/2022-11-23

Newsletter

Submit your details below to receive Newsletters

Newsletter