मूल्यवृद्धि ५१ महिनायताकै न्यून, औसत २.७७ प्रतिशतमात्र

June 12, 2025

जेष्ठ २८, २०८२, कान्तिपुर संवाददाता

Inflation is the lowest in 51 months, averaging just 2.77 percent
  • गत वैशाखमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धिदर १.५२ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको ३.४५ प्रतिशत

काठमाडौँ — गत वैशाखमा वार्षिक बिन्दुगत उपभोक्ता मूल्यवृद्धिदर (मुद्रास्फीति) २.७७ प्रतिशत रहेको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ । गत वर्षको सोही महिनामा यस्तो मूल्यवृद्धिदर ४.४० प्रतिशत थियो ।

मासिक रूपमा गत वैशाखको मूल्यवृद्धिदर ५१ महिनायताकै कम हो । २०७७ माघमा मूल्यवृद्धिदर २.७० प्रतिशत थियो । त्यसयता मूल्यवृद्धिदर बढ्दै जाँदा ०७९ भदौमा औसत ८.६४ प्रतिशतसम्म पुगेको थियो । उक्त बिन्दुबाट घट्दै गएको मूल्यवृद्धिदर गत वैशाखमा २.७७ प्रतिशतमा ओर्लेको हो ।

हाल आन्तरिकभन्दा बाह्य कारणले नेपालको मूल्यवृद्धिदरमा कमी आएको राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख रामशरण खरेलले बताए । ‘चालु आर्थिक वर्षको दस महिनामा आयात मूल्य सूचकांक नै २.६ प्रतिशतले घटेको छ । आयातमा आधारित अर्थतन्त्रमा आयातको मूल्य घटेपछि समग्र मूल्यको वृद्धिदर कम भएको हो । भारतमा विगत पाँच महिनादेखि उपभोक्ता मूल्यवृद्धिदर लगातार कम भई अप्रिलमा ३.२ प्रतिशतमा झरेको छ,’ उनले भने, ‘भारतसँग खुला सीमा र खुला आवतजावत भएकाले औपचारिक र अनौपचारिक व्यापारबाट मूल्यमा प्रभाव देखिन्छ ।’

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य यो दस महिनाको अवधिमा २०.७ प्रतिशतले घटेको छ । जसअनुसार नेपालमा पनि पेट्रोल र डिजेलको मूल्य लगातार घटेकाले यातायात, ढुवानी र डिजेलमा आधारित मेसिन सञ्चालनको लागत पनि घट्दै गएको खरेलले बताए । नेपाली रुपैयाँ अमेरिकी डलरसँग २.११ प्रतिशतले अवमूल्यन भएको छ । यसको असर पनि आयातित वस्तुको मूल्यमा परेको उनको भनाइ छ ।

गत वर्षको तुलनामा यो वर्ष अर्थतन्त्रका सबै क्षेत्रमा क्रमिक सुधार भई उत्पादन र आपूर्ति बढेकाले मूल्यवृद्धिदर कम हुन सघाउ पुगेको छ । गत वैशाखमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धिदर १.५२ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको ३.४५ प्रतिशत छ । गत वर्षको सोही अवधिमा यी समूहको मूल्यवृद्धिदर क्रमशः ६.४१ प्रतिशत र ३.०९ प्रतिशत रहेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।

गत वैशाखमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घिउ तथा तेल उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ११.०८, फलफूलको ६.१५, दाल तथा गेडागुडीको ५.१७ र गैरमदिराजन्य पेय पदार्थको ४.७० प्रतिशतले बढेको छ । तर तरकारी उपसमूहको मूल्यवृद्धिदर ८.११, मरमसलाको २.२० र माछा तथा मासुको ०.४८ प्रतिशतले घटेको छ ।

गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ९.०४, शिक्षाको ५.८८, कपडाजन्य तथा जुत्ताचप्पलको ५.२३, फर्निसिङ तथा घरायसी उपकरणको ३.९९ र रेस्टुरेन्ट तथा आवास सेवाको ३.१६ प्रतिशतले बढेको प्रतिवेदनले औंल्याएको छ ।

प्रतिवेदनअनुसार ग्रामीण क्षेत्रको औसत मूल्यवृद्धिदर ३.२१ प्रतिशतले र सहरी क्षेत्रको २.६१ प्रतिशतले बढेको छ ।

प्रदेशगत रूपमा गत वैशाखमा कोशी प्रदेशमा मूल्यवृद्धिदर सबैभन्दा बढी छ भने सबैभन्दा कम लुम्बिनी प्रदेशमा छ । कोशीको औसत मूल्यवृद्धिदर ४.२९, मधेशको २.८१, बागमतीको २.४०, गण्डकीको २.२३, लुम्बिनीको २.१५, कर्णालीको २.२१ र सुदूरपश्चिमको ३.१४ प्रतिशत छ । गत वैशाखमा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मूल्यवृद्धिदर २.६४ प्रतिशत, तराईको २.६४, पहाडको २.६५ र हिमालको ४.०१ प्रतिशत छ ।

पछिल्ला महिनामा मूल्यवृद्धिदर निरन्तर घटिरहेको छ । बजार माग बढ्न सकेको छैन भने ब्याजदर पनि लगातार घटिरहेको छ । ब्याजदर र मूल्यवृद्धिदर सँगसँगै घट्नुलाई अर्थशास्त्रीहरूले आर्थिक मन्दीको संकेतका रूपमा विश्लेषण गर्ने गरेका छन् । तर, राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख खरेलले आन्तरिकभन्दा पनि बाह्य कारणले नेपालको मूल्यवृद्धिदर घटेको, आन्तरिक अर्थतन्त्र सुधारको बाटोमा रहेकोलगायत कारणले अर्थतन्त्रमा मन्दी नभएको दाबी गरे ।

उपभोक्तासँगै थोक मूल्यवृद्धि पनि घटेको प्रतिवेदनले देखाएको छ । जसअनुसार ०८२ वैशाखमा वार्षिक बिन्दुगत थोक मूल्यवृद्धिदर ३.९५ प्रतिशत छ । गत वर्षको सोही महिनामा यस्तो मूल्यवृद्धिदर ५.६८ प्रतिशत थियो । उक्त अवधिमा उपभोग्य वस्तुको वार्षिक बिन्दुगत थोक मूल्यवृद्धिदर १०.८९ प्रतिशतले बढेको छ भने मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको वार्षिक बिन्दुगत थोक मूल्यवृद्धिदर क्रमशः ०.१० प्रतिशत र २.७३ प्रतिशतले बढेको छ ।

गत वैशाखमा निर्माण सामग्रीको थोक मूल्यवृद्धिदर २.६७ प्रतिशतले बढेको प्रतिवेदनले औंल्याएको छ ।

स्रोत: https://ekantipur.com/business/2025/06/11/inflation-is-the-lowest-in-51-months-averaging-just-277-percent-58-14.html 

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More