परदेशमै हराउँछन् नेपाली श्रमिक

April 25, 2024

आभास बुढाथोकी, २०८१ वैशाख १० गते ६:५०

वैदेशिक रोजगारीमा गएर वर्षौंदेखि परिवारको सम्पर्कमा नरहेका २६२ श्रमिकहरु कहाँ छन् ?

१० वैशाख, काठमाडौं । दाङ घोराही उपमहानगरपालिका–१६ की लीला खड्का २०७५ साउन १३ मा वैदेशिक रोजगारीका लागि कुवेत गइन् । एजेन्ट मार्फत भारतको बाटो भएर उनी कुवेत पुगेकी थिइन् ।

त्यहाँ उनी एक जना अरबीको घरमा घरेलु कामदारका रूपमा काम गर्थिन् । त्यहाँ पुगेको वर्षदिनसम्म उनी परिवारसँग सम्पर्कमै थिइन् । अरबीको घरमा आफूले दैनिक १८ घण्टा काम गर्नु परेको कुरा परिवारलाई सुनाउँथिन् । ‘यहाँ धेरै दुःख छ भन्दै रुँदै फोन गर्थी’ आमा लालमती खड्काले भनिन्, ‘फोन पनि लुकेर गर्थी, पछि त ऊ सम्पर्कमै आइनँ ।’ २०७६ मंसिर ७ गतेदेखि परिवारसँग उनको सम्पर्क टुटेको थियो । पछि उनीसँग कुरा हुँदै आएको नम्बरमा फोन लाग्नै छोड्यो ।

अवैध रुपमा गएकाले परिवारलाई उनको खोजतलास गर्न गाह्रो भयो । ६ वर्ष हुँदा पनि उनी सम्पर्कमा आउन सकेकी छैनन् । उनी कहाँ गइन्, कसरी हराइन् भन्ने कुरा परिवारका सदस्य कसैलाई थाहा छैन ।

वैदेशिक रोजगारीको सिलसिलामा कतार पुगेका इलामका ४१ वर्षीय यमबहादुर गुरुङ पनि ५ वर्षदेखि हराइरहेका छन् । २०७६ सालको कोभिड संक्रमणकालमा परिवारसँग सम्पर्कमा नरहेका उनको अत्तोपत्तो छैन ।

सुरुमा परिवारका सदस्यहरुले उनले काम गर्ने कम्पनीमा सम्पर्क गर्न खोजेको थियो तर सफल भएन । ‘पहिले–पहिले कम्पनीमा फोन लाग्थ्यो, तर धेरै भाषा नबुझ्दा समस्या भयो’ श्रीमती रिंकु पाण्डेले भनिन्, ‘पछि त त्यो फोन लाग्नै छोड्यो ।’

श्रीमती रिंकुले श्रीमानको खोजीका लागि अनेक कोसिस गरिन् । सबै सरकारी निकाय धाइन् । तर श्रीमानको कुनै खबर आएन । ‘कोभिड महामारी फैलिएपछि हराउनुभयो’ श्रीमती रिंकुले भनिन्, ‘तर अहिलेसम्म मरे–बाँचेको पत्तो छैन ।’ आज पनि परिवारका सदस्यहरुले खोजतलास जारी राखेका छन् ।

विभिन्न माध्यमबाट वैदेशिक रोजगारमा पुगेका कतिपय नेपाली श्रमिकहरु लामो समयदेखि परिवारको सम्पर्कमा छैनन् । वैदेशिक रोजगारीमा पुगेर हराइरहेकाहरु कहाँ गए, कसरी हराए भन्ने कुरा न परिवारलाई थाहा छ, न त राज्यले नै उनीहरुको खोजतलास गरेको छ ।

वैदेशिक रोजगार बोर्डका निर्देशक टीकाराम ढकालले श्रम स्वीकृति लिएर परदेश गई घाइते भएकाको उद्धार तथा ज्यान गुमाएका श्रमिकको शव फिर्ता गर्ने काम गरिने बताउँछन् । तर सम्पर्कविहीन भएका नेपाली श्रमिकहरुको हकमा खोजतलास गर्ने अधिकार बोर्डलाई नभएको उनले बताए ।

मलेसिया र खाडीमा धेरै

सरकारका कुनै पनि निकायसँग वैदेशिक रोजगारीमा गएका कति जना नेपालीहरु सम्पर्कविहीन छन् भन्ने आधिकारिक तथ्यांक छैन । तर आप्रवासी कामदारहरुको अधिकारको संरक्षण र प्रवर्द्धनमा क्रियाशील संस्था प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी) का अनुसार पछिल्लो पाँच वर्षमा रोजगारीको सिलसिलामा विभिन्न देशमा पुगेका २६२ जना नेपालीहरु परिवारको सम्पर्कमा छैनन् । खासगरी खाडी मुलुक, मलेसिया र मध्यपूर्वका देशहरुमा पीडामा परेका आप्रवासी कामदारहरुको पक्षमा काम गर्दै आएको पीएनसीसीमा वैदेशिक रोजगारीमा गएका श्रमिकका परिवारहरुले खोजतलासका लागि भनेर दिएको निवेदनको आधारमा हराउनेमा २४१ पुरुष र २१ महिलाहरु छन् ।

नेपालीको प्रमुख श्रम गन्तव्य मलेसिया, कतार, साउदी, युएई जस्ता मुलुकहरु मानिन्छ । सबैभन्दा धेरै मलेसिया गएका नेपालीहरु हराएका छन् । प्रवासी नेपाली समन्वय समितिका अनुसार पाँच वर्ष (सन् २०१९ देखि २०२४) सम्म मलेसियामा १२६, संयुक्त अरब इमिरेट्स (युएई)मा ५६, साउदी अरबमा २६, कुवेतमा १६ र कतारमा १४ जना नेपाली श्रमिकहरु हराइरहेका छन् ।

त्यस्तै जोर्डन, कोलम्बिया, माल्दिभ्स, भारत, जापान लगायतका देशहरूमा समेत नेपाली श्रमिकहरू हराइरहेका छ्न । तर मलेसिया र खाडी राष्ट्रहरुको संख्यामा यी मुलुकहरुमा हराउने नेपालीको संख्या एकदमै कम छ ।

किन हराउँछन् ?

बर्सेनि वैदेशिक रोजगारीमा गएका थुप्रै नेपाली श्रमिकहरु उतै हराउँछन् । प्रवासी नेपाली समन्वय समितिमा खोजीका लागि परेका निवेदनहरु हेर्ने हो भने पनि वार्षिक २० जनाभन्दा बढी नेपाली श्रमिकहरु परदेशमा हराइरहेका हुन्छन् ।

उनीहरु किन र कसरी हराउँछन् भन्ने कारण एउटै हुँदैन । प्रवासी नेपाली समन्वय समितिका कार्यकारी निर्देशक सोम लामिछानेले हराउनुमा विभिन्न कारण भए पनि पहिलो कारण भने पारिवारिक मनमुटावले सम्बन्ध बिग्रिएपछि सम्पर्कविहीन हुने गरेको बताए । ‘परिवारका सदस्यसँग मनमुटाव र आर्थिक लेनदेन जस्ता कारणले परिवारको सम्पर्कमा आउँदैनन्’ उनले भने, ‘त्यसरी कतिले त अर्कै बिहे गरेर बसेका समेत हुन्छन् ।’

कामको सिलसिलामा सञ्चार सम्पर्क नहुने ग्रामीण क्षेत्रमा गएका,  रोजगारदाताले नै परिवारसँग सम्पर्क गर्न नदिएका, विभिन्न कारणले मृत्यु भएका तर परिवारसम्म त्यो खबर नपुगेका र विभिन्न कारणले जेल जीवन बिताइरहेका कारण पनि परिवारसँग सम्पर्क नहुने लामिछानेको भनाइ छ ।

वैदेशिक रोजगार बोर्डका निर्देशक टिकाराम ढकालले श्रम स्वीकृति लिएर परदेश गई घाइते भएकाको उद्धार तथा ज्यान गुमाएका श्रमिकको शव फिर्ता गर्ने काम गरिने बताउँछन् । तर सम्पर्कविहीन भएका नेपाली श्रमिकहरुको हकमा खोजतलास गर्ने अधिकार बोर्डलाई नभएको उनले बताए । ‘बोर्डले परदेशमा गएका नेपालीहरुको हकमा लोक कल्याणकारीको काम गर्छ’ उनले भने, ‘त्यसबाहेक श्रमिकको खोजतलास जस्ता कामहरु बोर्डको क्षेत्राधिकार बाहिरको हो ।’

स्रोत: https://www.onlinekhabar.com/2024/04/1467962 

Newsletter

Submit your details below to receive Newsletters

Newsletter